Swornakshar Logo

कर्णालीको विकासबिना देशको विकास सम्भव छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णालीको विकासबिना समग्र देशको विकास सम्भव नरहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा ‘कर्णालीको विकास मोडेल’ शीर्षकमा आफ्नो भनाइ राख्दै शर्माले कर्णालीको विकास गरेमात्रै देशको विकास सम्भव रहेको दाबी गरेका छन्

‘अब कर्णालीको परिभाषा फेर्नुपर्छ, विकासको मोडालिटीको कुरा गर्दा, कर्णाली किन पछि पर्‍यो भन्ने कुराबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो साधन, स्रोतहरुको कुरा गर्नपर्छ । प्राकृतिक साधन स्रोत भएको कर्णाली, रसिलो र पोसिलो स्याउको दाना टिप्ने हाम्रा चाउरीका अनुहारहरु, जीवनबुटी जस्ता यार्सागुम्बाहरु तर कमजोर आयु भएका हामी कर्णालीवासीहरू, यो अन्तर्विरोध छ । यसलाई समाधान गरिनुपर्छ ।’

‘कर्णाली एक सभ्यता हो, नेपाली भाषाको जननी हो, ऐतिहासिक विरासत बोकेको छ, इतिहासका काठमाडौँमा आक्रमण गर्न सक्ने क्षमता भएको थियो, हिजोको कर्णाली,’ उनले भने, ‘आधुनिक नेपालको प्रारम्भसँगै कर्णालीको विराट सभ्यता र भूगोल एउटा नदीको किनार वरिपरि सीमित गरियो । एउटा अञ्चलको रुपमा सीमित भयो । त्यसयता गरिबी, अभाव, दुर्गमता र विकटताबाट यो परिचित भयो । गएको दुई अडाई सय वर्ष केन्द्रीय शासनद्वारा प्रताडित भएर बाँचिरह्यो ।’

कर्णालीको न्यायका लागि कामी बुढाले रुकुमबाट २००८ सालमा विद्रोह सुरु गरेको र दैलेख हुँदै हुम्ला गौडा कब्जा गरेको कुरा शर्माले स्मरण गरे । त्यसपछि कामी बुढालाई गिरफ्तार गरी जुम्लामा राखियो र ११ सालमा हत्या गरिएको थियो । कर्णालीका महान् सहिदहरुले यसको स्वाभिमानलाई अझमाथि उठाएको उनले बताए ।

शर्माले देशको विकास गर्न कर्णालीको विकास गर्नुपर्ने बताए ।