हेटौंडामा हुने प्रथम प्रदेश युवा सम्मेलनको तयारी पूरा, भोली उद्घाटन हुने
हेटौंडा । बागमती प्रदेशको प्रदेश युवा परिषदको सोमबारबाट हुने सम्मेलनको तयारी पुरा भएको छ । प्रदेशको राजधानी हेटौंडामा भोलि सोमबारबाट सुरु हुने ‘प्रथम युवा सम्मेलन २०८० को तयारी पूरा भएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गदै तयारी पूरा भएको चौलागाईले जानकारी दिएका छन् । सम्मेलनमा १३ वटै जिल्लाका १५० जना युवाको सहभगिता रहने छ ।
भोलि बिहान १० बजेबाट कार्यक्रम सुरु हुने चौलागाईले बताए । युवा पुस्तालाई मुलुक र समाज प्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको उनको भनाइ छ । हेटौंडाको मोटल एभोकाडोमा हुने दुई दिने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्र हुनेछ ।
सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् ।
सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् भने सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् ।
यसैगरी, सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुती रहने युवा परिषद्ले जनाएको छ ।
सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने र समापनमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहने परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: