Bagmati Samachar Logo

मकवानपुरको राक्सिराङमा बसाइँ सरेर आउनेलाई घर उपहार दिने

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी यो आर्थिक वर्षबाट घर उपहार दिने भएको छ ।

दुर्गम भेगबाट बसाइँ सरेर सुगमा जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिनेछ, शनिबार गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।

घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ ।

समुदायमा आधारित समूहको दिगो व्यवस्थापनमा एक घर एक धारा कार्यक्रमलाई थप बस्तीमा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको बजारोन्मुख बस्ती पलाँसे चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिङ्गेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न शहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको छ ।

दुर्गम वडामा विद्युतीकरण, काठको पोल विस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । सडक गुरुयोजना पुनरावलोकनमार्फत स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिका केन्द्रमा स्थापित आधारभूत अस्पताललाई सुविधा सम्पन्न बनाएर वडाहरुबाट अस्पतालसम्म निःशुल्क बस सेवा सञ्चालन गरिने छ । स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।