सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
लेनिन विष्टलगायत नौ जनाले नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोगरेकाले युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
यसअघि विष्टलगायतको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।
आइतबार रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।
रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: