Swornakshar Logo

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपिको बयान : ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणका प्रमुख योजनाकार भनी मुछिएका केशवप्रसाद दुलालले सरकारी वकिलको रोहबरमा प्रहरीसँगको बयानमा आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।

अर्का मुख्य आरोपी सानु भण्डारीले अख्तियारका बहालवाला प्रमुख आयुक्त प्रेमकुमार राईलाई क करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

दुई आरोपितहरुले तत्कालीन गृहसचिव राईलाई पैसा बुझाएको बयान दिएका छन् ।

उनीहरुले तत्कालीन गृहसचिव राईको गाडीमा १० भदौ २०७६ मा एक करोड रुपैयाँ राखिदिएको बताएका हुन्।

भण्डारीको बयान अनुसार उनले गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राईलाई एक करोड रुपैयाँ दिएपछि उनले त्यो रकम सचिवको गाडीमा राख्न निर्देशन दिएका थिए। उनले भनेका छन्, ‘मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू (तत्कालीन सचिव प्रेमकुमार राई)को हो, उक्त रकम गाडीमा राखिदिनु भनी भनेको।’

आफूले एक करोड रुपैयाँ नगद सचिवको गाडीमा राखेको र त्यसपछि उनलाई भेट्न कार्यकक्षमा गएको बयान दिएका छन् । बयानमा उनले गरेको दावी अनुसार त्यसपछि सचिव राईले ‘अब तपाईंहरुको काम हुन्छ तपाई जानु’ भनी बचन दिएका थिए । उनले बयानमा भनेका छन्, ‘म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ।’

सानु भण्डारी संगै केशव दुलालको बयानमा समेत तत्कालीन गृहसचिव राईको नाम उल्लेख छ। उनले सानु भण्डारीलाई उद्धृत गर्दै इन्द्रजित राईले एक करोड रुपैयाँ सानु भण्डारीमार्फत गृहसचिव राईलाई बुझाएको बताएका छन्। त्यसपछि आफूहरु दुवैजना अख्तियार प्रमुख राईको कार्यकक्षमा गएको उनको भनाइ छ। उनले बयानमा भनेका छन्, ‘निजकै कार्यकक्षमा गई कुरा हुँदा सानु भण्डारीसँग उक्त रकम बुझिसकेको भनी मलाई समेत जानकारी गराएका हुन्।’

कार्यदलले राई सचिव भएकै पालामा प्रतिवेदन बुझाएको थियो। उनले प्रतिवेदन कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएका थिए। र उनकै पालामा उक्त प्रतिवेदन गृह मन्त्रालयको स्थानीय प्रशासन शाखाको अभिलेखमा रहेको थियो ।

गृहसचिवबाट अवकाश पाएको केही समयपछि राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनको दुई वर्षे कार्यकालमा कम्तीमा पनि दुई पटक नक्कली शरणार्थी प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो ।

पहिलो उजुरीमा अख्तियारले कुनै कारबाही अघि बढाएन । दोस्रो उजुरीमा भने अख्तियार प्रमुखकै नाम किटेर ‘तपाईंका नाममा पैसा उठाएकाले रकम फिर्ता गराइदिनु’ भनी उजुरी परेको थियो ।

यस्तो छ दुलालको थप बयानको एक अंश

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको, प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु. १ करोड बुझी लिएको ।

त्यसैगरी तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको, तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक विकास समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ उर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी उर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक विकास समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझी लिएका हुन् ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अञ्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र उर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईंहरुको काम हुने भयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही १ करोड बुझी लिएका हुन् ।

काम नभएपछि पटकपटक रकम फिर्ता माग्दा धाकधम्की दिई हामी पावरमा छौं, तिमीहरुको केही लाग्दैन हामीलाई फोन गर्ने भेट्ने काम नगर्नू भनी प्रतीक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरुले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं, ६० प्रतिशत लैजानु भनी प्रतीक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५ ६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरुसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लिखित मानिसहरुसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झुटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झुटा मुद्दाबाट सफाइ पाउँ भन्ने प्रतिवादी केशवप्रसाद दुलालले गरेको थप बयान कागज ।

सानु भण्डारीको बयान

मलाई डा. इन्द्रजित राईले यो गाडी सचिवज्यू ९तत्कालीन सचिव प्रेमकुमार राई०को हो, उक्त रकम गाडीमा राखीदिनु’ भनी भनेको हुँदा मैले साथमा लिई गएको नगद रकम एक करोड गाडीमा राख्न लगाई मलाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको र अब तपाईंहरुको काम हुन्छ तपाई जानु भनी प्रेमकुमार राईले मलाई भनेकोले म निजलाई भेटी निजको विश्वासमा परी सो ठाउँबाट फर्किएको हुँ ।

(प्रहरी प्रतिवेदन, पेज २३)