नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेविरूद्ध अभियान चलाउन खोजियो : केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले विरुद्ध अभियान चालाउन खोजिएको आरोप लगाएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकमा उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा व्यक्ति दोषी हुन सक्ने तर पार्टीलाई नै मुछ्न खोजेको छ । आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस विषयमा कुनै दबाब पनि दिएको छैन । आफूसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले शरणार्थी प्रकरणमा कसैको दबाबमा पर्दिनँ भनेको सुनियो । कसले दबाब दियो ।’
अध्यक्ष ओलीले आफूलाई बोलाएर अरू प्रसंगमा कुरा गरेको तर बैठक सकेर निस्किएपछि दबाबमा पर्दिनँ भन्दै ‘फुइँ’ लगाएको बताए।
‘म प्रचण्डलाई भन्न चाहन्छु पछि हट्नुस् कसले भन्यो ? झुक्नुहोस् कसले भन्यो ? दबाबमा पर्नुस् कसले भन्यो ? कसले दबाब दियो ? मैले उहाँलाई कसैलाई बचाइदिनुस्, छानबिन नगरिदिनुस्, होलो खुकुलो गरिदिनुस्, छाड्दिनुस् भनें ? मैले त भनेको कडाइका साथ छानबिन गर्नुस्, कारबाही गर्नुस् ।’
शरणार्थी प्रकरणमा ८ जना पक्राउ परेपछि ओलीले प्रधानमन्त्रीलाई दुई पटक भेटि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: