मैले सपना देख्न छोडेको छैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई समृद्ध बनाउने सपना रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको बाँकी जीवनमा समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने बताए ।
‘साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– ‘तपाईंहरू सपना देख्नुहोस् । त्यो सपना तपाईं हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईंहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ,’ उनले भने, ‘त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो । तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ ।’ कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर आफू परिवर्तनको लामो र कठिन यात्रामा होमिएको बताए । उनले भने, ‘आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला ।’
उनले त्यतिखेर परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न नसक्ने बताए । उनले राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न नछोडेको बताए ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभई व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: