काठमाडौं । देशमा आर्थिक अवस्था जर्जर बनेको बताइन्छ । सरकारले आगामी आर्थिक वर्षको तयारी गरिरहेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीदेखि तालुकदार निकाय छलफल, परामर्श र सुझव सङ्कलनमा जुटेका छन् । १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । यसका लागि केही महिनाअघि देखि नै छलफल र तयारी गरिन्छ । यसपालि अर्थमन्त्री नियुक्तिमै ढिलाइ भएकाले बजेटको तयारी पनि केही बिलम्ब गरी थालिएको छ ।
चालु आवका लागि सरकारले १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६ खर्ब ३४ अर्ब २३ करोड ७५ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । यो कूल लक्ष्यको ४५ दशमलव दुई प्रतिशत मात्रै हो ।
सरकारले कूल राजस्वमा कर राजस्वबाट १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म पाँच खर्ब ७४ अर्ब १० करोड रुपैयाँ बराबर सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ४४ दशमलव ३२ प्रतिशत बराबर हो ।
सरकारको खर्च र आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालु आवको नौ महिनाको अवधिमा कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ रुपैयाँ बराबरको खर्च गर्नुपर्नेमा हालसम्म आठ खर्ब ६४ अर्ब ७८ करोड २६ लाख रुपैयाँ बराबरको खर्च भएको छ । यो कूल खर्चको ४८ दशमलव २१ प्रतिशत बराबर छ ।
कूल खर्चमध्ये चालु खर्च ६ खर्ब ७६ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ बराबर छ । यस्तै पुँजीगत खर्च ९९ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ बराबर भएको छ । चालु आवमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको हो ।
सरकारको कूल आम्दानी ६ खर्ब ३४ अर्ब २३ करोड ७५ लाख रुपैयाँ बराबर रहेकामा अहिलेसम्म कूल आठ खर्ब ६४ अर्ब ७८ करोड २६ लाख रुपैयाँ बराबर छ । महालेखा नियन्त्रणको यो विवरणका आधारमा सरकारको आम्दानीभन्दा खर्च बढी रहेको स्पष्ट देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । त्यस्तै सो अवधिमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा छ । केन्द्रीय बैंकका अनुसार कूल विदेशी सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर छ । केन्द्रीय बैंकका अनुसार कूल विदेशी सञ्चितिमा १३ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।
बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० दशमलव आठ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । मुलुकको समग्र आर्थिक परिदृश्य यही हो । वैदेशिक सञ्चिति, शोधनान्तर स्थिति र विप्रेषण आप्रवाहमा सुधार आए पनि राजस्व सङ्कलन र सरकारको खर्चको अनुपात भने ऋणात्मक देखिएको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव उस्तै छ । कोरोना कहरपछि समस्यामा परेको उद्योग व्यवसायमा बैंक तथा वित्तीय संस्थाको ब्याज दरमा भएको वृद्धिका कारण थप समस्या पैदा भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजारको कारोबार मापक नेप्से परिसूचक एक हजार आठ सय ६६ दशमलव ७९ मा ओर्लेको छ । सन् २०२२ को अप्रिल ६ तारिखमा कूल बजार पुँजीकरण ३४ खर्ब ४८ अर्ब आठ करोड रुपैयाँ बराबर रहेकामा बिहीबार २७ खर्ब चार अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबर छ ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…