प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा विश्वासको मत लिने तयारी गरेका छन् । ५ चैतका लागि संसद्को बैठक बोलाएको छ । सरकारलाई विश्वासको मत दिएका दुई दलले समर्थन फिर्ता लिएका छन् । सरकारलाई विश्वासको मत दिने दलले विश्वासको मत फिर्ता लिएमा पुनः ३० दिनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
१३ फागुनमा राप्रपा र १५ फागुनमा नेकपा एमाले सरकार छाड्दै समर्थन फिर्ता लिएका थिए । १० पुसमा बनेको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै सत्ता साझेदार दलहरूको समीकरण पनि फेरिएको छ ।
तर, नयाँ गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याइसकेको छैन । मन्त्रिपरिषद् विस्तारअगावै विश्वासको मत लिने प्रचण्डको तयारी छ । अहिले बनेको गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा, नाउपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
१० पुसको गठबन्धनमा रहे पनि नागरिक उन्मुक्ति र जसपा सरकारमा सामेल भएको छैनन् । गठबन्धन फेरबदल भएपछि उनीहरू पनि नयाँ गठबन्धनमा छन् । राष्ट्रपति र उपराष्ट्रपति चुनावका कारण आचारसंहिता लागेकाले पनि मन्त्रीमण्डा विस्तार हुन नसकेको गठबन्धनका नेताहरू बताउँछन् ।
उपराष्ट्रपतिको चुनावपछि बस्ने संसदको बैठकमा विश्वासको मत लिने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेल बताउँछन् । ‘सत्ता गठबन्धन दलहरूमा ६ गते विश्वासको मत लिने सहमति भएको छ । उपराष्ट्रपतिको निर्वाचनपछि ५ गते संसदको बैठक बस्ने छ । ६ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मतको प्रस्ताव पेस गर्नुहुन्छ,’ गजुरेलले भने ।
सरकार बनाउन कम्तीमा १३८ जना सांसदको समर्थन चाहिन्छ । २५ पुसमा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २६८ जना सांसदको समर्थन पाएका थिए । त्यसबेला राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका थिए ।
नेकपा (एमाले)सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: