दिउँसो १ बजे नयाँ राष्ट्रपतिको शपथ ग्रहरण हुदै
काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । दिउँसो १ बजे शीतलनिवासमा विशेष समारोह बीच नवनिर्वाचित राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण हुने छ ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ खुवाउने संवैधानिक व्यवस्था छ । राष्ट्रपति पौडेललाई सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउने छन् । शपथग्रहणपछि राष्ट्रपति पौडेलले शपथको व्यहोरामा हस्ताक्षर गर्नेछन् । त्यसअघि नवनिर्वाचित राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मानगारथ अर्पण गर्छ ।
शपथपछि पौडेलले औपचारिक रूपमा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । ‘शपथग्रहणपछि नवनिर्वाचित राष्ट्रपति पौडेललाई निवर्तमान हुँदै गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सीमा आसन ग्रहण गराउनुहुनेछ । आसन ग्रहणपछि प्राइभेट कोठामा जानुहुन्छ । त्यहाँ नवनिर्वाचित र पूर्वराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्चपदस्थ व्यक्तिहरू हुनुहुन्छ । बिदाइ भेट त्यहीँ हुनेछ,’ पूर्वराष्ट्रपति डा। रामवरण यादवका कानुनी सल्लाहकार ललित बस्नेतले भने ।
निवर्तमान हुँदै गरेकी राष्ट्रपतिको बिदाइ भेट शपथपछि भए पनि बिदाइ समारोह रात्रिभोजसहितको हुने बस्नेतले बताए । राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा हुँदैछिन् ।

प्रतिक्रिया दिनुहोस्: