भ्रष्टाचार गरी साझा प्रकाशन डुबाएको आरोप लागेकी ममता झाद्धारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएको छ । जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् ।
झा तिनै पात्र हुन्, जोमाथि ९ वर्षअघि साझा प्रकाशनको अध्यक्ष एवं महाप्रबन्धक हुँदा पदको दुरुपयोग गरेको आरोप लागेको थियो । यति मात्र होइन, साझा डुबाउनेमध्येकी एक उनी पनि भएको आरोप लाग्ने गरेको छ ।
साझाका अस्थायी सहायकस्तर द्वितीय तहमा कार्यरत कर्मचारी माधवप्रसाद थपलियालाई न्यूनत्तम शैक्षिक योग्यताबिना अस्थायी सहायकस्तर प्रथम श्रेणीमा नियुक्ति दिएर पनि उनी विवादमा परेकी थिइन् ।
आफूविरुद्धका उजुरीका कारण पटक(पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर सफाइ दिएको कुरा राजीनामा दिने क्रममा उनी स्वयंले बताएकी थिइन् ।
२०७० सालमा साझा प्रकाशनका कर्मचारीले झालाई प्रवेश निषेध गर्दै आन्दोलन गरेका थिए । एक प्रतिवेदनले झा अध्यक्ष भएका बेला सरकारले साझाको केन्द्रीय भवन बनाउन दिएको रकम घोटाला भएको औँल्याएको थियो ।
अख्तियारले छापा मारेर भवन निर्माणसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएपछि उनले राजीनामा दिएकी थिइन् । झाले साझा प्रकाशन डुबाएको भनेर विभिन्न साहित्यकारहरूले समेत आन्दोलन गरेका थिए । साझाको भवन बनाउन रकम नपुगे पनि उनले आफ्ना लागि ८० लाखको गाडी किनेकी थिइन् । साझा प्रकाशनमा भएको आर्थिक घोटालाको छानबिन गरी अख्तियारले तत्कालीन निलम्बित महाप्रबन्धक झाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त विषयमा मुद्दा चलेर किनारा लागे, नलागेको खुलेको छैन । मुद्दामा झा दोषी भएको पाइएमा उनको उम्मेदावारी रद्द हुन सक्छ । तर जनमत पार्टीका नेताहरू भने कुनै मुद्दा नलागेको र सफाइ पनि पाइसकेको दाबी गर्छन् ।
पहिले उनी सद्भावना पार्टीमा थिइन् । अहिले जनमत पार्टीकी सप्तरी इन्चार्ज छिन् । विवादित पृष्ठभूमिकी उनै झाले अहिले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन् । उम्मेदवारविरुद्ध आजै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: