उपराष्ट्रपतिबारे प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधानविपरीत ः खड्का
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्।
शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।
उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए। उनले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे।
उनले आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए। उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताए।
उनले भने, ‘नेपालको संविधानले के भनेको छ, फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ। तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरित निर्वाचन आयोगले निर्णय गरेको छ। अनलाइनहरुमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ। उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन। आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन। संविधानले स्पष्ट व्यवस्था गरेको छ। प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ।’
उपसभापति खड्काले आज राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताए। उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए।
उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्: