बहुमत ल्याउँछौ, भ्रष्टाचारमुक्त देश बनाउँछ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी शाहसँगको लाइभ डिबेटमा ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् ।
उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’ प्रत्यक्षतर्फ सय र समानुपातिकतर्फ ५१ प्रतिशत लोकप्रिय मत ल्याएर एमालेले बहुमत प्राप्त गर्ने ओलीको विश्वास थियो । ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ,’ उनी भन्छन्, ‘यस पटक जनता ओइरिएका छन्। राष्ट्रियतामा स्थिरता र स्थायित्वको मिसन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन ।’
ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको बताए । उनले भने, ‘एमालेलाई प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट दिइएको थियो । बहुमतका लागि १३८ सिट चाहिन्थ्यो । हामीसँग १२१ सिट मात्र थियो । हामीसँग मिलेर चुनाव लडेको पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने थियो । पार्टीसँग एकता गरेर बहुमत पुर्याइएको हो ।’
०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षडयन्त्र भएको ओलीको दाबी छ । ‘मङ्सिरमा चुनाव सम्पन्न भए पनि सरकार बनाउन नदिने गम्भीर षडयन्त्र भयो । चुनाव एमालेसँग मिलेर लड्ने र भित्रभित्रै अर्को षडयन्त्र गर्ने अरूसँग मिलेर सरकार बनाउन खोजेर फागुन ३ गतेसम्म सरकार बनाउन दिइएन,’ उनले भने ।
तर त्यो बहुमतको सरकार एमालेले नढालेको उनको जिकिर छ । ‘त्यो सरकार ढालेको एमाले अध्यक्षका हिसाबले वा तत्कालीन प्रधानमन्त्रीका हिसाबले मैले पनि होइन । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन कस कसले भूमिका खेले जगजाहेर छ ,’ ओलीले भने । तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालका कारण संसद् विघटनको परिस्थिति बनेको ओलीको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्: