Bagmati Samachar Logo

दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित

काठमाडौं । मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीब गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यद्पि निर्वाचन आयोगले यसको औपचारिक घोषणा गरिसकेको छैन ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएको हो । मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

‘दुई जनाको उम्मेदवारी परेको थियो । दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ’, उनले शिलापत्रसँग भने, ‘अब १ बजेपछि औपचारिक घोषणा हुन्छ ।’

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले आज दिउँसो १ बजेसम्मको समय तोकेको छ । त्यसैले मनाङे निर्विरोध भएको सूचना १ बजेपछि मात्रै सार्वजनिक गर्ने सिलुवालले बताए ।