कमल थापनलाई ओलीले टिकट दिएपछि एमाले कार्यकताद्धारा पार्टी कार्यलयमा तालाबन्दी
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट उम्मेदवारी दिएका हुन् ।
ओलीले मकवानपुरमा कमल थापालाई टिकट दिएपछि एमालेमा चर्को असन्तुष्टि देखिएको छ ।
थापालाई सूर्य चिह्नबाट चुनाव लड्ने गरी एमालेले टिकट दिएपछि एमालेका नेता कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
मनोनयन दर्ता समय सुरु हुनभन्दा पहिला नै असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् । हेटौँडा–५ पुष्पलाल पार्कनजिक रहेको एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका छन् ।
मकवानपुर– १ मा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय भएको थियो । तर, अन्तिम समयमा अध्यक्ष ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।
थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा छन् । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले एमालेबाटै उम्मेदवारी दिनु परेको हो ।
तालमेल अनुसार थापाले मकवानपुर–१ मा एमालेबाटै उम्मेदवारी दिनु परेको हो । जिल्लाका अन्य सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: