Bagmati Samachar Logo

नेताहरूलाई मिलाउन नै ठूलो चुनौती भयो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई एकताबद्ध बनाएर जाने कुराको चुनौति रहेको बताएका छन् । प्रचण्डले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको बताए ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार प्रचण्डले एक तहका नेताहरूमा पार्टीको विचार, नीति, व्यवहार र नेतृत्वप्रति विश्वास धर्मराएको आफूले देखेको बताए । नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्क उठ्ने सम्भावना छ, प्रचण्डले भने, ‘मेरो चुनौती नेताहरूलाई के गरी मिलाउने भन्ने, आजको सबैभन्दा ठूलो चुनौती भएको छ । नेताहरूलाई मात्रै मिलाउन सक्ने र एकढिक्का भएर यो पार्टी नेतृत्वमा स्थपित गर्ने हो भने जनतामा दुःख छैन ।’

तराई मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निर्वाचनमा ५० ठाउँमा पराजित हुनुपरेको प्रचण्डको भनाइ थियो । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शीर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उनले असन्तुष्टि पोखे । तराई(मधेसमा यो बीचमा हजारौं कार्यकर्ता, बुद्धिजिवी पार्टीमा प्रवेश गरेका छन् । हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने र हराउने हो भन्ने तँछाड र मँछाड भएको छ । अनि नेताहरूको लागि छानबिन समिति बनाउनुपर्ने अवस्था आएको छ, उनले भने ।