वैद्य नेतृत्वको माओवादी र बास्तोला नेतृत्वको नेकपाबीच एकता गर्न संयोजन समिति बन्यो
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता गर्न संयोजन समिति बनेको छ । वैद्य र बास्तोला नेतृत्वको पार्टीबाट ३÷३ जना नेता रहनेगरी पार्टी एकता संयोजन समिति बनाएको छ । पार्टी एकता संयोजन समितिले नै पार्टी एकता प्रक्रिया अघि बढाएर टुंगो लगाउने भएको हो ।
शुक्रबार वैद्य र बास्तोलाले पार्टी एकता गरेर जाने समझदारी गरेपछि पार्टी एकता संयोजन समिति निर्माण भएको हो । जसमा वैद्य नेतृत्वको माओवादीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष र केन्द्रीय सदस्य पवनमान श्रेष्ठ छन् । बास्तोला नेतृत्वको नेकपा बहुमतबाट प्रवक्ता हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्य गुणराज लोहनी र उदयबहादुर चलाउने छन् ।
हामीले क्रान्तिकारी माओवादीसँग एकता गर्ने समझदारी गरेका छौ । पार्टी एकतालाई पूर्णता दिन दुबै पक्षबाट समेटेर एकता संयोजन समिति बनाएका छौ’ नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तालाले भने, ‘एकता संयोजन समितिले पार्टी एकताको सहजीकरण गर्ने र एकतालाई पूर्णता दिनेछ ।’ दुई पार्टीबीच एकता गर्ने विषयमा कुनै समस्या नभएकाले तत्काल टुंगो लगाइने बास्तोलाको दाबी छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद मान्नेमा समस्या छैन वैद्यलाई पार्टी अध्यक्ष वा महासचिव बनाएर बास्तोला नेतृत्व मान्न तयार भएकाले पार्टी एकतामा समस्या नहुने भएको हो ।
वैद्य र बास्तोला दुबै तत्कालिन प्रचण्ड नेतृत्वको नेकपा माओवादीबाट २०६९ सालमा विभाजन गरेर नेकपा– माओवादी गठन गरेका थिए । लगतै विप्लवले वैद्यबाट पार्टी विभाजन गरेपछि बास्तोला विप्लवसँगै गएका थिए । अन्तिममा बास्तोलाले विप्लवलाई छोडेपछि पुनः वैद्य र बास्तोला एउटै पार्टीमा जोडिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: