राष्ट्रपतिको उपस्थितिमा उपसभामुखले लिइन् सपथ
सदन प्रभावकारी ढंगबाट अघि बढाउने प्रयास गर्छु
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु सहभागी रहेका थिए । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

पद तथा गोपनीयताको सपथ पछि उपसभामुख भुसालले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन् । आइतबार पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उपसभामुख भुसालले आफूमाथि जिम्मेवारी बढेको महशुस गरेको प्रतिक्रिया पनि दिइन् ।
संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु’,उनले भनिन्, ‘र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ । तीन चार महिना जति समय छ, त्यो समय मेरो लागि अत्यन्त महत्वपूर्ण रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्: