चुनावी गठबन्धनबाट कांग्रेसले आफ्नै सिद्धान्त भुल्यो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय निर्वाचनमा गठबन्धन गर्दा अरुले फाइदा लिएको तर कांग्रेसले आफ्नै सिद्धान्त भुलेको दाबी गरेका छन् ।
पार्टी कार्यालय सानेपामा सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुने गरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्यौँ भने पार्टीका साथीहरुलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचनभन्दा अगाडि यस विषयमा गम्भीर र विस्तृतरुपमा पार्टीभित्र छलफल गरिनु पर्छ,’ उनले भने, ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरि तालमेलबारे पार्टीको धारणा निर्माण गरौं भन्ने मेरो विचार हो।’
नेता कोइरालाले स्थानीय तह निर्वाचनमा गरिएको तालमेल र आगामी निर्वाचनबारे पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नुपर्ने पनि बताए।
‘विगतको तालमेल र आगामी निर्वाचनबारे हामीले पार्टीभित्र सुक्ष्म ढंगले समीक्षा र मूल्यांकन गर्नैपर्छ,’ उनले भने, ‘हामी यसबाट भाग्न सक्दैनौँ। हामीलाई त्यस्तो छुट छैन। हामीले दूरदराजका कर्मशील र निष्ठावान साथीहरुलाई जवाफ दिनै पर्छ।’
उनले स्थानीय तह निर्वाचनको तालमेलबाट केही सिट बढी जिते पनि पार्टीको आदर्श सिद्धान्त भुलेको टिप्पणी गरे।
‘तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्याउन खोज्दैछौँ ?,’ प्रश्न गर्दै कोइरालाले भने, ‘स्थानीय तह निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ। तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पार्यौँ।’
प्रतिक्रिया दिनुहोस्: