अन्तर्घातीलाई कारबाही गर्न पौडेलको नेतृत्वमा एमालेले बनायो समिति

हेटौडा । नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति बनाएको छ । एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनाव परिणाम अपेक्षा गरे अनुरुप आउन नसकेको निष्कर्ष निकालेको छ ।
परिणाम अपेक्षा गरेअनुसार नआउनुको कारण आन्तरिक समस्याहरु रहेको गुरुङको भनाइ छ । अब भने पार्टीभित्र देखापरेका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर पार्टीलाई चुस्त दुरुस्त बनाएर चुनावमा जाने निर्णय गरेको पनि उनले बताए । उनले असार मसान्तभित्र स्थानीय निर्वाचन समीक्षा गरिसक्ने निर्णय भएको बताए । त्यसका लागि जिल्ला तथा मातहत कमिटीहरुले गरेको आत्मसमीक्षा असार मसान्तभित्र पार्टी हेडक्वार्टरमा उपलब्ध गराउन पनि एमालेले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: