अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्ने भएको छ । अखिल क्रान्तिकारीमा विवाद उत्कर्षमा पुगेपछि असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ ।
बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् ।
असन्तुष्ट पक्षको नेतृत्व उपाध्यक्ष पवन कार्कीले गरेका छन् । संगठनको विधान विपरित काम गरेको भन्दै उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तिकारीको विवाद थप उत्कर्षमा पुगेको हो ।
असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिनेछ। अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।
संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको मितिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका एक नेता बताए ।
असन्तुष्ट पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।
संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । उनीहरूले आफ्ना मागबारे पार्टी अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराइसकेका छन् ।
क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्: