Bagmati Samachar Logo

गठबन्धनको बागमती प्रदेशमा सरकार फेर्ने तयारी

हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ गठबन्धनबीच सरकार परिवर्तन गर्ने तयारी भएको छ । प्रदेश सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

सत्तारुढ गठबन्धन घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नु पर्ने भन्दै नेकपा एसलाई दबाब दिइराखेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे आफ्ना पार्टीका शीर्ष नेतासँग परामर्श गर्न काठमाडौं आएका थिए । परामर्शपछि उनले काठमाडौंमै संसदीय दलको बैठक आह्वान गरेका हुन् ।

सरकारको नेतृत्व गर्नुअघि नै बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार सुरुमा पाण्डेले सरकारको नेतृत्व गरे भने अहिले कांग्रेसले सोही सहमतिअनुसार नेतृत्वको दाबी गरेको हो ।

मुख्यमन्त्री पाण्डे कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भएको बताइएको छ । शनिबार बस्ने नेकपा एकीकृत बागमती प्रदेश संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने मुख्य सचेतक मुनु सिग्देलको भनाइ छ ।