एमालेको असहयोगका कारण जीतपुर सिमराको नगरसभा स्थगित

काठामाडौं । नेकपा एमालेको विरोधका कारण बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको असहयोगका कारण नगरसभा स्थगित भएको हो ।
एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले हाजिर नगरेपछि गणपूरक संख्या नपुगेको भन्दै स्थगित गर्नुपरेको एक कार्यपालिका सदस्यले बताए । शुक्रबार बिहिन ११ बजेका लागि बोलाएको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीसमेत २ घण्टा ढिलो आइपुगेका बताइएको छ । उनले नगरसभा सम्पन्न गर्न सहजीकरण नगरेको एमालेका एक सदस्यले जनाए । एमालेको अवरोधका कारण गणपूरक संख्या नपुगेपछि नगरसभा स्थगित गर्नु परेको नगरप्रमुख राजन पौडेलले बताए ।
प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले कार्यक्रम सुरु गरेपनि एमालेका जनप्रतिनिधिहरुले माइक खोसेपछि केही समय तनावको स्थिति सिर्जना भएको थियो । नगर प्रमुख पौडेलले नगरसभा सुरु गर्न खोजेपनि होहल्ला र असहज परिस्थितिका कारण ४ बजे नगरसभा स्थगितको घोषणा गरिएको हो । उपप्रमुख अधिकारीसहित एमालेका जनप्रतिनिधिहरु कार्यक्रम स्थल पुग्नासाथ होहल्ला भएको थियो । एमालेले २ घण्टा होहल्ला गरेपछि नगरप्रमुख पौडेलले नगरसभा स्थगित भएको घोषणा गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार सवै स्थानीय तहले असार १० गतेभित्र नगरसभामा बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ ।
नगरसभामा जीतपुर सिमरा वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले कर्मचारीमाथि दुर्व्यवहारबारे गरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: