Swornakshar Logo

प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले भने– अहिले तपाईँहरूले अबको प्रधानमन्त्री भन्नुभयो । तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ ।

आफ्नो पहिलो कार्यकाल झिलिमिलीमै बितेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै राम्रो सुधारको प्रयास गरेको भन्दै दोस्रो कार्यकालप्रति गर्व रहेको बताए ।

उनले देशलाई राष्ट्रिय एकतामा बाँधेर चुनावमा लैजाने दायित्व समेत आफूले निर्वाह गरेको र इतिहासमै राम्रो आर्थिक वृद्धिदर आफ्नो दोस्रो कार्यकालमा भएको दाबी समेत गरे ।

वामपन्थी एकता गरेर देशलाई स्थिरता दिने प्रयास असफल भए पनि आफू अब प्रधानमन्त्री बनेमा मुलुकलाई समृद्ध बनाउने योजना रहेको प्रचण्डले सुनाए ।