Bagmati Samachar Logo

लुम्बिनीमा ४२ अर्ब ६२ करोडको बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९—८० को लागि ४२ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री खड्काले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार (३१.२६ प्रतिशत)‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार (५७.४१ प्रतिशत) रहने अनुमान गरेको उल्लेख गरे ।

बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, शसर्त अनुदान र विशेष अनुदानमार्फत् स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा सञ्‍चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्‍त हुने राजश्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड प्राप्‍त हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट प्राप्‍त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, शसर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख, विशेष अनुदानबाट ४८ करोड ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब परिचालन हुने अनुमान गरेको मन्त्री खड्काले जनाकारी दिए।