Swornakshar Logo

ओलीले कुल्ला गर्दा खाँटी कार्यकर्ताले बान्ता नगरे योग्यता पुग्दैन : भुसाल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको नाम लिएपछि कुल्ला गर्दा उनका खाँटी कार्यकर्तले बान्ता नगरे योग्यता नै नपुग्ने बताए ।
वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएकाले कार्यकर्तामा त्यही रोग सल्किएको टिप्पणी गरेका छन् ।

उनले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताए ।

भुसालले भने, ‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन् । माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् । अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’

उनले स्थानीय चुनावमा आएको परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ वटा पालिका जित्ने दाबी गरेका छन् ।

भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए ।

भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे । अहिले पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको भुसालले बताए ।