Swornakshar Logo

हेटौडामा माओवादी केन्द्रका घलानको जिसस प्रमुखमा उम्मेदवारी

हेटौंडा । मकवानपुरमा सत्तारुढ गठबन्धनमा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रको भागमा परेपछि हेटौडा उपमहानगरपालिकामाम वडाध्यक्षमा विजयी भएका व्यक्ति नै जिसस प्रमुखको उम्मेदवार बनेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हेटौडा उपमहानगरपालिका १२ का वडा अध्यक्ष ललितबहादुर घलानले उम्मेदवारी दिएका छन् ।

मकवानपुरमा निर्वाचित माओवादीका जनप्रतिनिधि मध्ये सबैभन्दा वरिष्ठ घलानलाई नै भएकाले जिससमा पठाएको बताए मकवानपुर माओवादी केन्द्रले बताएको छ । घलान बागमती प्रदेश सचिवालय सदस्य हुन् । माओवादीले मकवानपुरमा २ पालिका प्रमुख, ७ उपप्रमुख र २४ जना वडाध्यक्ष जितेको छ ।

यस्तै नेकपा एमालेबाट जिसस प्रमुखमा बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारी दर्ता भएको हो ।

गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन ।

महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिनाकुमारी थिङ लामाको उम्मेदवारी परेको छ । महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।

खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

१० वटा स्थानीय तह रहेको मकवानपुरमा एमालेले दुई अध्यक्ष र एक उपाध्यक्ष मात्र जितेको छ र समन्वय समितिमा उसको मात्र ३ मत छ । सत्तारुढ गठबन्धनको भने १७ मत छ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष घलान जिसस प्रमुख निर्वाचित भएमा यो वडामा उप चुनाव गर्नु पर्ने हुन्छ ।