Bagmati Samachar Logo

केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै कहिल्यै थिएन : वेदुराम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एकल एमाले सरकार इतिहासमै नरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९ ०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै ओलीको नेतृत्वमा नेकपा एमालेको सरकार अहिलेसम्म नबनेनको बताए ।

उनले भने, ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घामजत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’

राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिक खटाउने निर्णय र विद्युत्को उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनमा महसुल बढाउने निर्णय विरोधाभाष भएको उल्लेख गरे । उनले गत सालको बजेट तत्कालीन सरकारले संसद्बबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोपसमेत लगाए ।

सरकारले प्रस्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको समेत भुसालको भनाई छ । अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको टिप्पणी भएको उनले बताए ।