Swornakshar Logo

१२१ स्थानीय तह माआोवादी आधार इलाका हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जितेका १२२ स्थानीय तहलाई पार्टीको आधार ईलाका बनाउनु पर्ने बताएका छन् । बुधबार पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले अर्को स्थानीय तह चुनावमा माओवादी नै हो देश बनाउने जनताको माया गर्ने, सेवा गर्ने, सुशासन दिने, भ्रष्टाचार रोक्ने र समाजवाद ल्याउने माओवादी नै हो भनेर देखाउनुपर्ने बताए ।

‘तपाई हामीले पनि जनताको मत जितेर अर्कोपटक १२१ स्थानीय तह नयाँ आधार इलाका हुनुपर्यो’, अध्यक्ष प्रचण्डले हिजो जनयुद्ध सुरु गर्दा ५, ६ वटा जिल्ला र ५० जना होल टाइमर नेता कार्यकर्ताबाट सुरु गर्दा त यत्रो परिवर्तन गर्न सकिएको भन्दै प्रचण्डले अहिले माओवादीसँग धेरै ठुलो शक्ति रहेको बताए ।

उनले भने, ‘अहिले १२२ गाउँ, नगर हाम्रो लिडरसिप छ । अनुभव पनि छ । भनेपछि हामीले एकचोटी संकल्प गर्यौ भने हामीले लडाईं जित्छौ । जित्नै पर्छ । यो लडाई नै हामीले नै जित्नुपर्छ ।’

उनले जनताले अब ५ वर्षपछि माओवादी नै हो देश बनाउने र जनताको माया गर्ने भन्ने बनाउन जरुरी भएको बताए । साथै उनले जनताको सेवा गर्ने सुशासन दिने, भ्रष्टाचार रोक्ने र समाजवाद ल्याउने माओवादी भएकाले फोर फ्रन्टमा रहेका स्थानीय प्रतिनिधिहरूलाई सोही अनुसार काम गर्न निर्देशन दिए । ‘समाजवादको भ्रूण पनि त्यहीँबाट बन्दैछन्’, प्रचण्डको भनाइ छ ।