Swornakshar Logo

काँग्रेस पनि एमालेजस्तै हुने हो कि भन्ने डर छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पनि एमाले जस्तै अहंकारी र दम्भ देखाए ठेगाना लगाइ दिने चेतावनी दिएका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको कांग्रेसले पनि दम्भ देखाउन थालेको दाबी गरेका छन् ।

उनले भने, ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौँ। अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन ख्याल गरे हुन्छु, उनले भने, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ। हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौँ।’

अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय कांग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए । उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरेपनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गर्ने गरेको सुनाए । उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भएपनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताए । ‘अहिले कांग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले मेहनत गरेरै प्रधानमन्त्री बनायौ ।’

प्रचण्डले आफुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपनि अहंकार चुलिने हो कि भन्ने चिन्ता लागेको बताए । ‘हामीले प्रधानमन्त्री बनायौ, मेहनत गरेरै बनाएको हो । उहाँ अहिले पनि भैराख्नुस् भन्ने छ । हाम्रो अर्थोक केही छैन, गठबन्धनलाई लाने नै भन्ने छ’, प्रचण्डले भने, ‘हामी चिन्तित छौ यतिबेला । फेरि काँग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि घेरा लाइयो अब प्रदेश र संघको चुनावमा पनि लाउने भन्यो भने एमालेलाई ठेगान लाएजस्तै काँग्रेसलाई पनि लगाउने दिन नआओस् भन्नेछ ।’

उनले अहंकार र दम्भले कहीं नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न आग्रह गरे । उनले अहंकार र दम्भ आए फेरि विद्रोह गर्ने भन्दै त्यस्तो नहोस् भन्ने अपेक्षा गरेको बताए ।