Bagmati Samachar Logo

ओलीको दम्भ नहुने हो भने एमालेका अरु नेतासँग मिल्न सकिन्थ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमा दम्भ नहुने हो भने एमालेका धेरै नेता कार्यकर्ताप्रति आफ्नो विश्वास रहेको बताएका छन्।

प्रतिनिधिसभाको अजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीमा दम्भ र अहंकार नहुने हो भने अन्य कार्यकर्तासँग मिलेर काम गर्न सकिने बताए।

नेकपा एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा छ, विश्वास छ। अहिलेपनि, उनले भने, ‘यो प्रवृत्ति जसमा यतिधेरै अहंकार र दम्भ नहुने हो भने अरु सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने देख्दिँन। अझै उहाँले जसरी घोचपेच गर्नुभयो यसले म धेरै चिन्तित भएको छु।’

ओलीले राष्ट्रियसभादेखि स्थानीय निर्वाचनसम्मको परिणामबाट केही रियलाइज गरेको होला भन्ने आफूले सोचेको भएपनि त्यस्तो नपाएको प्रचण्डले गुनासो गरे।

‘मैले त सोच्थेँ, उहाँ हुँदोखाँदाको दुईतिहाइ बहुमतको सरकार, बालुवाटारमा उहाँले अलि गृहकालिन ढंगले रहन्छु भनेर तयारी गर्नुभयो। सरकार गयो, बालकोट असयमार्नै जानपर्यो। आफ्नै सरकार ढलाएर, पार्टी फुटाएर गएपछि अलिकति रियलाइजेसन भयो भन्ने लाग्थ्यो’ उनले भने, ‘त्यसपछि अलिकति त आयो होला भन्ने लाग्थ्यो। आफूतिर फकनुहुन्छ होला जस्तो लाग्या थियो। राष्ट्रियसभाको चुनावबाट केही न केही त आयो होला भन्ने लाग्थ्यो, अहिलेको स्थानीय तहको निर्वाचनपछि त पक्कैपनि उहाँले आत्मसमीक्षा गर्नुहुन्छ र देशको राजनीतिक स्थायीत्वका लागि र कम्युनिस्ट आन्दोलनको हितका लागि कुरा गर्नुहोला भन्ने लागेको थियो।’

ओलीले संसदमा उभिएर मन्तव्य गर्दा ओलीले झुटो मात्र बोलेको बताए।

‘उहाँले ३ घन्टा बोल्नुभयो, ३ घन्टामा वामपन्थी एकताको पक्षमा वातावरण बनाउने कुरा पो गर्नुहुन्छ कि ? कहिँ आत्मालोचना गरेर मैले गल्ती गरेँ भन्नुहुन्छ कि ?’ उनले भने, ‘अदालतले, गठबन्धनले भनेको कुरामा पुनसमीक्षा गर्नेतिर जानुहुन्छ कि भन्ने सोचेको त उहाँ त सुरुदेखि अन्तिमसम्म अरुलाई गाली गर्ने, बदनाम गर्ने र मेरो दृष्टिमा धेरै झुट कुरा बोल्नुभयो। उहाँ आफ्नो अहंकार र दम्भबाट पर जानुभएको छैन् भन्ने देखियो।’