Bagmati Samachar Logo

हेटौंडाका मेयर लामाको पहिलो निर्णय : विपन्नलाई निशुल्क पानी, बिजुली र स्वास्थ्य बीमा

मकवानपुर । हेटौंडाको नवनिर्वाचित मेयरले पदभार ग्रहणपछि नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका छन्। त्यसैगरी विपन्न गरिव घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेका छन् ।

आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, बाटो विस्तारका क्रममा बाटोको बीच भागमा परेका विद्युतका पोल हटाई किनारामा स्थापना गर्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसा विरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रय स्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु सञ्चालन गर्ने निर्णय समेत भएको छ ।

निर्णयहरु कार्यान्वयनका लागि कर्मचारीहरुलाई निर्देशनात्मक रुपमा जानकारी समेत गराइएको छ ।