Swornakshar Logo

६८४ स्थानीय तहको नतिजा घोषणा, कांग्रेस पहिलो

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९अन्तर्रगत ७ सय ५३ स्थानीय तह मध्य जारी मतगणनाबाट ६ सय ८४ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ ।
शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २ सय ३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४ सय ४६ जनप्रतिनिधि विजयी भएका छन् । यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।

मत परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सय कटाइसकेको छ । आइतबार बिहानसम्म कांग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सय ३ प्रमुखमा जितेको छ ।

यस्तै एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले अहिलेसम्म १ सय ८५ प्रमुख र गाउँपालिका अध्यक्षमा जितेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले १ सय १७ स्थानमा प्रमुख र अध्यक्षमा जितेको ।

जसपा २३ प्रमुख र अध्यक्षमा विजयी भएको छ भने त्यस्तै नेकपा एकीकृत समाजवादी १७ स्थानमा प्रमुख र अध्यक्ष विजयी भएको छ । २७ स्थानमा अन्य विजयी भएका छन् ।

एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।