Bagmati Samachar Logo

धनुषा अपडेट: धनौजीमा २५ राउन्ड हवाई फायर , स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

काठमाडौ. । धनुषाको धनौजी गाउँपालिका २ नं वडामा खसेको मतपत्र भन्दा बढी मतपत्र बाक्सामा भेटिएपछि विवाद बढेको छ । धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मत पेटिकामा फेला परेको हो ।

मतगणनास्थलमा विवाद बढेपछि प्रहरीले हवाई फायर  गरेको छ ।

प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । मत पेटिकामा १५ वटा मत बढी फेला परेको भन्दै विवाद बढेको हो। खसेको मतभन्दा बढी मत फेला परेपछि मतगणना स्थगित छ । मतदानको दिन मत खसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद चर्किएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए ।

उनले भने, ‘मत पेटिकामा मत खसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मत पेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ ।’

विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो ।

स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ ।