Bagmati Samachar Logo

‘केपी प्रवृत्तिविरुद्ध लड्न देउवालाई प्रधानमन्त्री बनायौं’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली प्रवृतिका विरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था राजनीतिमा आएको बताएका छन् ।

शुक्रबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको प्रशिक्षणमा प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले देउवालाई प्रधानमन्त्री बनाएको बताए ।

‘मैले र माधव नेपालले शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ उनले भने, ‘हामी संख्या पुर्‍याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्‍यो । प्रत्यक्षमा हामीले बढी सिट जितेको हो । तर, हामी केपी प्रवृत्तिविरुद्ध लड्नु प्रमुख हो भनेर त्यसमा अगाडि बढ्यौं ।’

‘प्रतिगमनविरुद्ध संघर्ष’ मा माओवादीले आफूलाई प्रमाणित गरेको प्रचण्डको भनाइ छ। ‘हामीले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको हो,’ उनले भने, ‘अरु कुनै पनि पार्टीले प्रतिगमनविरुद्ध विद्रोह गरेर महाधिवेशन गरेका होइनन्। त्यसबाट माओवादी ज्यान दिएर लड्न तयार छन् भन्ने प्रामाणित भएको छ ।’

प्रचण्डले निकै अन्यौलताका बेला गत साउनको बैठक पार्टीलाई वैचारिक र सांगठनिक दिसा देखाउन सफल भएको दावी गरे। ‘साउन ३० र ३१ गते बसेको केन्द्रीय समिति बैठक हाम्रो पार्टीलाई ऐतिहासिक मोड दिने ऐतिहासिक बैठक बन्यो,’ उनको भनाइ छ, ‘ हामी जाने बाटो यही हो स्पष्ट थिएन । संगठनलाई सुधार गर्नेबारे पनि कसैको दिमागमा स्पष्ट चित्र आएको थिएन ।’