एमसीसीबारे प्रचण्ड : अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गरेका छन् ।
एमसिसी पास भएपछि पहिलोपटक उनले आफ्नै निवास खुमलटारमा पत्रकारहरूलाई बोलाएर एमसीसीबारे आफ्ना दृष्टिकोण बताएकाछन् ।
‘प्रचण्ड’ ले संसदबाट एमसीसी पारित गर्दा अर्को कुनै प्रस्ताव पनि सँगै पारित गर्ने उपाय आफूले निकालेको दाबी गरे ।
आफूले त्यसबेला संसदबाट अर्को कुनै प्रस्ताव समानान्तररूपमा पारित गर्ने कुरा राख्दा तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवा सहमत भएको प्रचण्डले बताए । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको उनको भनाइ छ ।
प्रचण्डले भने ‘मैले संकल्प प्रस्ताव वा अरु केही नाम दिएर एमसीसी पारित गरौं भनेको थिएँ । देउवा यसमा तयार हुनुहुन्थ्यो । तर, केपी ओलीले चाहिँ जस्ताको तस्तै पारित गर्नुपर्ने अडान लिनुभयो । एमसीसीमा एक अक्षर पनि परिवर्तन नहुने अडान लिएपछि यो प्रस्ताव अघि बढेन ।’
प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरे । यो विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाइ छ ।
आफूले अन्तर्राष्ट्रिय कानूनका धेरै ज्ञाताहरुसँग सल्लाह गरेपछि भियना अभिसन्धिअनुसार यस्तो व्याख्यात्मक घोषणा कानूनसम्मत हुने निस्कर्षमा पुगेको प्रचण्डले बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय कानूनका ज्ञाताहरुले मलाई यस्तो उपाय सुझाएपछि मलाई ‘इनलाइटेन’ जस्तो भयो । भियना अभिसन्धीअनुसार यसो गर्न सकिने रहेछ । म छ्याङ्ग भएपछि पार्टीमा प्रस्ताव राखेको हुँ ।’
प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको दावी गरे ।
उनले भने, ‘अर्को पक्षले यदि यसलाई मानेन भने स्वतः खारेज हुन्छ भन्नेमा हामी क्लीयर भएका छौं । त्यो त्यसको अंग बन्छ भन्ने भयो । केही साथीहरुले अमेरिकी दूतावासमा पनि कुरा गर्नुभयो । त्यताबाट पनि सकारात्मक संकेत आयो । त्यसैले हामी अगाडि बढ्यौं र संविधान र शान्ति प्रक्रिया जोगियो ।’
एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको प्रचण्डले बताए । तर, महाकाली सन्धीमा बामदेव गौतमले गरेको विरोध सम्झिदै उनले त्यस्तो भ्रम नपाल्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्: