Bagmati Samachar Logo

प्रतिनिधिसभाबाट पारित भयो एमसीसी

काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे । राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने वेल घेराउमै रहेको थियो । एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा निरन्तर नाराबाजी गर्दै आएको छ ।

एमसीसी सम्झौताप्रति असन्तुष्ट सत्तारुढ गठबन्धनकै केही सांसदले बैठक बहिस्कार गरेका थिए ।

सत्तारुढ गठबन्धनमा देखिएको विवाद चिर्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए । आजै प्रतिनिधिसभाको पहिलो बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल भएको थियो । सांसदहरुको धारणा र गठबन्धनको सहमति अनुसार संसद भवनमै बसेको मन्त्रिपरिषद बैठकले सम्झौताबारे उठेका प्रश्नहरुको निवाराणार्थ व्याख्यात्मक घोषणा पेश गर्ने निर्णय गरेका थिए ।