१० बुँदे सहमति झापामा लागू हुने सुदूरपश्चिममा किन हुदैनः भीम रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति झापामा लागु भएको तर सुदूरपश्चिम प्रदेश कमिटीमा लागु नभएको भन्दै आक्रोस पोखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै आज बसेको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक अवैध र अमान्य रहेको बताएका छन् ।
उपाध्यक्ष रावलले ट्वीट गर्दै १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी गरेको अन्तरपार्टी निर्देशन विपरीत सुदुरपश्चिम प्रदेश कमिटीको बैठक बस्न लागेको भन्दै गुटबन्दीको संज्ञा दिएका छन् ।
एमालेमा अहिले वडा र पालिका सम्मेलन सकेको छ । मंसिर १०–१२सम्म महाधिवेशनको मिति तोेकेको छ । तर महाधिवेशनको समयको मुखैमा फेरी एमालेमा विवाद सुरु भएको छ । रावलेले प्रदेश कमिटीको बैठक नै असंवैधानिक भएको बताएका छन् ।
रावल सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका छन् तर एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई इन्चार्ज बनाएका छन् । रावलले भट्टलाई इन्चार्ज स्वीकारेका छैनन् ।
भट्ट इन्चार्ज र कर्ण थापा अध्यक्ष रहेको एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको बैठक कैलालीको धनगढीमा बसीरहेको छ । तर रावले भने यो बैठकललाई गुटबन्दीको संज्ञा दिएका छन् । बैठकका निर्णयहरु अमान्य हुने चेतावनी दिएका छन् ।
रावलले अगाडि लेखेका छन् ‘अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा लागू नहुने किन ? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि ।’
प्रदेश कमिटीको बैठकलाई उनले कथित भनेका छन् । उनले भनेका छन् ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।’
रावल केहि समय पहिला १० बुँदे सहमति कार्यन्वयन सहजीकरण कार्यदलको संयोजक थिए । तर ओलीको व्यवहार प्रति असन्तुष्ट भएर रावलले केही दिनअघि संयोजकबाट राजिनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: