Bagmati Samachar Logo

काँग्रेसद्धारा १३ जिल्लाका अधिवेशनको तालिका सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लाको अधिवेशनको मिति तोकेको छ । अधिवेशनको मिति तोकेसंगै निर्वाचन अधिकृत पनि तोकेको छ ।
विवादका कारण प्रदेश नं. २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके , सुर्खेत र कैलालीमा वडा अधिवेशन हुन सकेको छैन ।

कांग्रेसको वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गते अधिवेशन हुने छ । हिमाली क्षेत्रका १३ जिल्लामा काँग्रेसको जिल्ला अधिवेशन भईसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन भइसकेको छ ।

बाँकी १३ जिल्लामा पालिका अधिवेशन कात्तिक ३० गते हुने छ । मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने छ । एक निर्वाचन भएको जिल्ला अधिवेशन पनि ६ गते मंसिरमा हुने छ । एक भन्दा बढी प्रतिनिधि सभाको निर्वाचन क्षेत्र भएको जिल्लामा १० मंसिरमा अधिवेशन हुने छ ।

सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । जुम्लामा पनि मंसिर एक गते जिल्ला अधिवेशन हुने छ ।

६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुने छ ।

कांग्रेसको ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुने छ । मंसिर २४–२६ मा काँग्रेसको १४ औं महाधिवेशन हुने छ ।
१४ औं महाधिवेशन तयारीको लागि कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बस्दै छ ।

अधिवेशनको लागि काँग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा टेकप्रसाद सुवेदी ,बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ ।

यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ । कात्तिक २२ गते निर्वाचन अधिकृतले सम्बन्धित जिल्लामा पुगि सक्नु पर्ने छ ।