Bagmati Samachar Logo

जसपाले पायो चार मन्त्रालय, मन्त्रीको नाम टुंगो जिम्मा उपेन्द्रलाई

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले चारवटा मन्त्रालय पाएको छ । मन्त्रीको नाम टुंगो लगाउने जिम्मा भने अध्यक्ष उपेन्द्र यादवलाई लगाएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई मन्त्री छान्ने जिम्मा दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।

उपेन्द्र यादव सरकारमा नजाने

जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने भएका छन् । उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको जाने सम्भावना हुनसक्थ्यो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको हो ।

पार्टीका अध्यक्ष यादव मात्र होइन, पार्टीका अरु शीर्ष नेता डा.बाबुराम भट्टराई पनि सरकारमा नजाने पक्का भएको छ । भट्टराई पूर्वप्रधानमन्त्री हुन ।
यद्यपी भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिनेछन् ।