Bagmati Samachar Logo

यसरी पाउँदैछ, नेकपा एकीकृत समाजवादीले कलम चुनाव चिन्ह

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने तयारी गरेकाे छ । एकीकृत समाजवादी र नेकपा एकीकृतबीच  एकता प्रक्रियाको अन्तिम तयारी भएकाे छ। एकीकृत समाजवादीले यहि ९ भदौमा निर्वाचन आयोगबाट दलको मान्यता पाएको थियो ।

तर उसँग भने अहिलेसम्म चुनाव चिन्ह छैन । तर एमाले विभाजन हुनुभन्दा पहिले नै निर्वाचन आयोगमा दर्ता भएको र चुनाव चिन्ह कलम पाएको नेकपा एकीकृत पार्टीबीच एकता हुँदा चुनाव चिन्ह कलम राख्ने सहमति भएको बताइएको छ ।

नेकपा एकीकृत पार्टीको अध्यक्ष जीवन राई हुन् । उनी एमाले निकट अनेरास्ववियुकाे राजनीति गर्दै आएका थिए । उनी पहिलादेखि नै माधवकुमार नेपाल निकट हुन् । एमाले विभाजन हुने पक्का पक्की जस्तै हुन थालेपछि नेपाल पक्षले दुई दल निर्वाचन आयोगमा दर्ता गराएका थिए । नेकपा एकीकृत र अर्को नेकपा लोकतान्त्रिक ।

यी दुवै पार्टी एकीकरण हुने र चुनाव चिन्ह कलम राख्ने सहमति भएको स्रोतले बताए । नेकपा एकीकृत समाजवादीले राईलाई यहि बैठकबाट केन्द्रीय कमिटीमा ल्याउने भएको बताइन्छ । राईको नाममा दल दर्ता भएपनि उनी नेपाल पक्षको युवा नेता हुन ।

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यको पनि टुङगो लगाउने भएको छ भने पोलिट ब्युरो पनि बनाउने बताइएको छ ।
आज पार्टी सचिवालयले पदाधिकारीको टुङ्गो लगाइ सकेको छ ।