Bagmati Samachar Logo

आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं । सरकार बनेको लामो समय हुँदासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारका दैनिक कामकारबाहीमा समेत असर पुगेको छ । गत २९ असारमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेसँगै शेरबहादुर देउवा नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको थियो ।
दलभित्रै कसलाई सरकारमा पठाउने भन्नेबारे सकस भइरहेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या आएको हो ।
तर आज शुक्रबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम मागेका छन् । देउवा अब जसरी पनि मन्त्रिपरिषद् विस्तार गर्न चाहन्छन् । गठबन्धनका तर्फबाट मन्त्रीका नामहरु सिफारिस नहुँदा विस्तार हुन नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वा शनिबारसम्ममा सके पुरै नभए गठबन्धनका हेर दलबाट दुई–दुई जना नाम पठाएर मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।
शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि मन्त्रिपरिषद विस्तारबारे बढी छलफल भएको एक सहभागी नेताले बताए । ती नेताका अनुसार प्रमुख विषय नै सरकार विस्तारको बारेमा भएको थियो ।
नयाँ सरकार बनेको लामो समय हुदा पनि विस्तार हुन नसक्दा जनस्तरबाट पनि आलोचना हुन थालेकाले प्रधानमन्त्री मन्त्रीपरिषद विस्ता गर्न आतुर रहेको स्रोतले बताए ।
सरकारमा सहभागी पाँच दल मध्ये राष्ट्रिय जनमोर्चाले समर्थन गरेपनि सरकारमा सहभागी नहुने निर्णय पहिला नै गरीसकेको छ ।
माओवादी केन्द्रको तर्फबाट दुई जना मन्त्री सहभागी भएका छन् । तर एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जसपा पनि विभाजन भएकाले निर्वाचन आयोगले प्रमाणीत नगर्दासम्म सरकारमा सहभागी नहुने देखिन्छन् ।
जसपाका प्रवक्ता डम्मर खतिवडाले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल नभएको बताए । उनले भने ‘सरकारमा जानेबारे पार्टीमा केहि छलफल भएको छैन । तर निर्वाचन आयोगले प्रमाणीत गरेपछि जान्छौ होला ।’
माओवादी केन्द्रले पनि सकेसम्म आफ्नो भागमा परेका सबै मन्त्रीहरु आज अथवा भोलीसम्म पठाउने नभए दुई जना भएपनि मन्त्री परिषदमा पठाउने तयारी गरेको स्रोतले बताए ।
नेकपा एसमा पनि यसबारेमा आन्तरिक तयारी पुरा भएको बुझिएको छ ।