Bagmati Samachar Logo

वाइसीयलको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकले योङ कम्युनिस्ट लिग (वाइसियल)को नेतृत्व चयन गर्ने जिम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सोमबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीले जारी वाईसियलको नेतृत्व सहमतिमा चयन हुन नसकेपछि प्रचण्डलाई जिम्मा लगाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

वाईसीएलको तिन दिनदेखि जारी भेलामा नेतृत्वको लागि सहमति नभएपछि माओवादी केन्द्रको स्थायी कमिटी बसेर प्रचण्डलाई जिम्मा दिएको हो । शनिबारदेखि जारी भेला दुई दिनमै सकिने भनिएपनि नेतृत्वमा सहमति नहुदा सोमबारसम्म जारी रहेको छ ।
नेतृत्व सहमतिमा नै चयन गर्ने भनिएपनि दाबेदारबीच सहमति हुन नसक्दा भेला लम्बिएको हो । हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने र नयाँ नेतृत्व चयन गर्ने भएकाले तीन जना अध्यक्षका दाबेदार छन् । अहिलेका वाईसीएल महासचिव सुबोध शेर्पाली उपाध्यक्ष सुमन देवकोटा र यशोदा न्यौपानले अध्यक्षमा दावी गरेका छन् ।
माओवादी केन्द्रले प्रचण्डलाई आजै पदाधिकारी, अध्यक्ष, उपाध्यक्ष र महासचिव चयन गर्न जिम्मा दिएको साहले जानकारी दिए ।