Bagmati Samachar Logo

माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश निस्क्रिय हुने प्रावधान राख्न छुट्योः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले पार्टी फुटाएपछि अध्यादेश निस्क्रिय हुने प्रावधान राख्न छुटेको भन्दै ब्यङग्य गरेका छन् । देउवा सरकारले एमाले फुटाउनकै लागि अध्यादेश ल्याएको पनि आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता भन्दा पनि एमाले फुटाउन अध्यादेश ल्याइएको बताए। अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको आरोप लगाए ।

ओलीले भने ‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो ।’

माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश स्वतः निस्क्रिय हुन्छ भन्ने वाक्यांश छुटेको भन्दै ओलीले व्यंग्य गरे ।

‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने, ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो । उहाँहरुले अध्यादेशले आफ्नै पार्टी फुटाउँछ भनेर अहिले थर्कमान हुनुहुन्छ ।’