नेकपा एकीकृत समाजवादीको महासचिवमा भुसाल कि झाँक्री ?
काठमाडौं । एमालेबाट विभाजित भएको नेकपा एकीकृत सामाजवादी पार्टीमा महासचिव को बन्ने भन्ने चर्चा चुलिन थालेको छ ।
राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार नयाँ पार्टी दर्ता गर्न केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य पु¥याउनुपर्छ । निर्वाचन आयोगले पनि नेपाल पक्षले दर्ता गर्न लागेको पार्टीमा २० प्रतिशत सदस्यको सनाखत गर्न बुधबार बोलाएको छ । अध्यादेशमा राखिएको यो संख्या सरकारले नेपाल पक्षलाई पार्टी विभाजन गर्न सहज बनाउनका लागि राखेको थियो ।
दर्ता प्रक्रियामा रहेको एकीकृत समाजवादी पार्टीमा अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहने छन् । एमालेको नवौं महाधिवेशनबाट पारित विधानलाई नै नवगठित पार्टीले लागू गर्ने भएको छ । विधानमा व्यवस्था भए अनुसार नै पार्टीमा बहुपदीय प्रणाली अवलम्बन गर्ने भएको छ ।
एमालेको नवौं महाधिवेशनले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव,सचिव लगायत स्थायी कमिटी र पोलिटब्युरोको व्यवस्था गरेको छ । उक्त विधानअनुसार नवगठित पार्टीमा अध्यक्ष पछिको सबै भन्दा शक्तिशाली पद महासचिव हुने व्यवस्था छ ।
को हुँदैछन् महासचिव ?
नेपाल नेतृत्वको पार्टीमा अध्यक्ष र वरिष्ठ नेताको टुंगो लागे पनि महासचिव को हुने भन्ने बारेमा आन्तरिक छलफल सुरु भएको छ । स्रोतका अनुसार मध्यमार्गी धारमा रहेका नेताहरुले एमालेसँग विद्रोह गर्ने अन्तिम तयारीमा रहेका छन् । उनीहरुले दुई दिन निरन्तर बैठक बसेर एमाले अध्यक्ष केपी ओलीले १४ सांसदलाई कारबाहीका लागि संसद् सचिवालयमा दर्ता गरेको पत्र फिर्ता लिनुपर्ने र २७ साउनमा भएको १० बुँदे एकताको प्रस्तावलाई मंगलबारसम्म हुबहु लागु गर्नुपर्ने माग राखेका छन् ।
कार्यदलले तयार पारेको १० बुँदे र कारबाही फिर्ता नभए एमाले विभाजन हुने मध्यमार्गी धारको नेतृत्व गरिरहेका नेता घनश्याम भुसालले बताउँछन् । नेपाल पक्षका ५७ जना केन्द्रीय नेता भने पार्टी एकताका लागि भन्दै ओलीलाई अल्टिमेटम दिएर बसेका छन् । ओलीले आफूहरूको माग दिएको अल्टिमेटमअनुसार पुरा नगरे विद्रोह गर्ने र नवगठित नेपाल नेतृत्वको पार्टीमा जान बाध्य हुने बताइरहेका छन् ।
एमाले विभाजन हुँदा त्यहि विधान दुबै पार्टीले मान्ने भएपछि अध्यक्ष पछिको शक्तिशाली पद महासचिव को बन्छ भनेर एकीकृत समाजवादी पार्टीमा दुई जनाको नाम चर्चामा आएको स्रोतले बतायो ।
पहिलो नाम हो घनश्याम भुसालको । उनी एमालेको निर्वाचित उपमहासचिव हुन । उनले नेपाल पक्षबाट नै नवौं महाधिवेशनमा उपमहासचिव जितेका थिए । भुसालले ओलीको कार्यशैली र विचारको कटु आलोचक मानिन्छन् । पहिलो र दोस्रो पटक संसद् विघटन गरेपछि झन् कडा आलोचक बनेका भुसालले थुप्रै पटक सार्वजनिक मञ्चबाटै ओलीलाई चुनौती दिँदै आएका छन् ।
नेपाल पक्षमा रहेका भुसाल पार्टी विभाजन हुनुहुँदैन भन्दै मिलाउनेतर्फ बढी केन्द्रीत थिए । त्यहि भएर उनी २७ साउनको १० बुँदे प्रस्ताव लागू हुनुपर्ने र १४ जनालाई ओलीले कारबाहीको सिफारिस फिर्ता लिनुपर्ने अडानमा थिए । तर ओलीले तेस्रो धार भनिएका नेताहरुको माग पुरा नगर्ने भएका छन् ।
तेस्रो पक्षको माग पुरा नभए त्यसमा रहेका बहुमत नेताहरु नेपाल पक्षको एकीकृत समाजवादीमा लाग्ने बताइन्छ । त्यस्तो भएका भुसाल महासचिव हुने देखिन्छन् । स्रोतका अनुसार तेस्रो धारमा रहेका नेताहरुमा सबै भन्दा बढी केन्द्रीय सदस्य र सांसद भएका नेता भुसाल रहेका छन् । स्रोतले भन्यो ‘तेस्रो धारमा रहेका नेताहरुमा भुसाल बाहेक अरुसँग नत केन्द्रीय सदस्य छन् नत सांसद नै त्यहि भएर उनी आए महासचिव पक्का । होइन भने सबैभन्दा बढी केन्द्रीय सदस्य र सांसद भएको नेता रामकुमारी झाँक्री हुन् ।’ भुसाल आएनन भने महासचिवमा झाँक्री निर्विकल्प पात्र रहको बताइन्छ ।
पार्टी दर्ता गर्न जाँदा झाँक्रीले अध्यक्ष नेपालको हात समातेको फोटा अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । झाँक्रीले हात समातेको फोटोको कसैले पुरानो पुस्तालाई साथ दिएको रुपमा अथ्र्याएका छन् भने कसैले पार्टी विभाजन गर्न हौस्याएको रुपमा । तर जे होस् नेपालको पक्षमा अडिग भएकी झाँक्रीलाई राजनीतिमा विचार र व्यवहारको सतिसालको रुपमा लिइन थालिएको छ । दोस्रो पुस्ताका अझ वैचारिक रुपमा पनि अब्बल मानिँदै आएका उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीले धोका दिँदा पनि झाँक्री नेपालको पक्षमा चट्टानी अडानमा उभिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्: