एमालेका पुराना र युवा नेताहरुको एउटै स्वर ओली तानाशाही भए
काठमाडौं । राजनीति तरल भएको छ । ५ पुसबाट राजनीति यो अवस्थामा पुगेको हो । यसका प्रमुख पात्र हुन तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली । ओली नेकपाका पार्टी अध्यक्ष र झण्डै दुई तिहाइ जनमतबाट निर्वाचित सरकारको नेतृत्वकर्ता हुन । तर विडम्बना भन्नु पर्छ अहिले ओली नेतृत्वको नेकपा अस्तित्वमा नै छैन । झण्डै दुई तिहाइको सरकार ढल्न एक झोक्का हावा काफि छ ।
राजनीति अवस्था ११ फागुन र २३ फागुनमा सर्वोच्च अदालतले गरेका फैसलाले १८० डिग्रीको फनको मारेको छ । २०७५ साल २ जेठमा कम्युनिस्टको अवस्था जे थियो त्यहि पुगेको छ । अथवा दुई तिहाइको जनमतले ल्याएको नेकपा अहिले दुई पार्टी भएको छ । एमाले र माओवादी केन्द्र । माओवादी केन्द्र स्थिर अवस्थामा छ । उसलाई खासै केहि भएको हो जस्तो नै छैन । तर एमालेमा भने पुरा उथलपुथल भएको छ । एमाले अब सग्लो रहन्छ अथवा रहदैन भन्ने अवस्थामा पुगेको छ । यहि अवस्थामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको बैठक भन्दै माधवकुमार नेपाल पक्षका नेताहरुको कार्यविभाजन खोसिदिए । अझ माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरे ।
चैत २ गते एमालेका दुबै पक्षका नेताहरु बीच पार्टी कार्यलय धुम्बाराहीमा भेटवार्ता भयो । उक्त भेटवार्तामा एमालेका नेताहरुबीच कुरा कानी मिलेन । नेपाल पक्षले २८ गतेका सबै निर्णय फिर्ता लिन भने । तर ओलीले फिर्ता नलिने भनेपछि नेपाल पक्षले पूर्व निर्धारित ४ र ५ गते बोलाएको राष्ट्रिय भेला आज ललितपुरमा सुरु गरे । जब कि ३ गते ओली पक्षले बालुवाटारमा चियापान राखेका थिए उक्त चियापान पनि नेपाल पक्षले बहिस्कार गरेका थिए । उक्त चियापान कार्यक्रममा ओलीले पार्टीका विरुद्ध गतिविधि गर्नेलाई कारवाहि गर्ने बताएका थिए । त्यहि राती महासचिव इश्वर पोखरेलले विज्ञप्ती नै निकालेका थिए । एमालेको नाममा कुनै भेला छैन । कसैले आयोजना गरेको भए नजानु भनेर । तर आज करिब ४ हजार पार्टी नेता कार्यकर्ताको उपस्थितिमा नेपाल पक्षको भेला जारी रहेको छ ।
ओली तानाशाह भए
नेपाल पक्षको राष्ट्रिय कार्यकर्ताको भेलामा केहि पुराना नेताहरु पनि उपस्थित थिए । जसमा मोदनाथ प्रश्रितपनि थिए । प्रश्रित एमालेका वैचारीक र साहित्यीक नेताकाा रुपमा परिचित छन् । उनी पुराना नेता हुन । उनले एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सक्रिय राजनीतिबाट ओझेल परेका थिए । उनी राजनीतिमा सक्रिय थिएनन् । तर आज भने नेपाल पक्षको भेलामा पुरा कार्यक्रमभरी मञ्चमा बसे । उनी अहिले एमालेमा संकट आएको बताउछन् । उनले भने ‘यो पक्षले मलाई भेलामा आउन निम्ता दिएकाले आएको हुँ । अहिलेको वादविवादमा म नेपाल पक्षमा छु । ओलीले कम्युनिस्ट आन्दोलन सक्न थालेका छन् । यसका विरुद्ध हामी हौ ।’
उनको कार्यशैलीप्रति सहमति नभएको उनको भनाइ थियो । पार्टीको काममा सक्रिय नभएपनि अहिलेको अवस्थामा अर्को पक्षले जुन काम गरीरहेको छ त्यो ठिक नभएको प्रश्रितको भनाइ थियो ।
झापा आन्दोलनका प्रमुख पात्र मध्य एक हुन मोहनचन्द्र अधिकारी । उनी पनि आजको भेलामा उपस्थित थिए । दुब्लो ज्यान । बोली नै अस्पष्ट । तर पनि उनले भेलामा पुरा समय बिताए । उनी साँझ हुदासम्म भेलामा थिए । उनले आफू भेलामा आउनुको कारण प्रष्ट पादै भने ‘यो भेला एमालेको हो ,नकि कसै गुटको ।’
ओलीले गरेका गतिविधि गैरकम्युनिस्ट भएकाले आफु यो भेलामा आएको अधिकारीको दाबी छ । उनले भने ओलीको रबैया तानाशाही हिटलर जस्तो छ । उनले सबैलाई कारवाहि गदै जाने प्रवृति छ ।
ओलीका कारण आफू राजनीतिबाट ओझेल पर्नु परेको दुखेसोपनि पोखे । अधिकारीले भने ‘म कम्युनिस्ट भएर यो भेलामा आएको हुँ । मैले कम्युनिस्ट पार्टी निमार्ण गरेको हुँ । मेरो पछि केपी ओली आएको हुन । मैले बनाएको एमालेको भेलामा आएको हुँ ।’
ओलीले नेपाल पक्षलाई कारवाहि गर्छु भन्नु भनेको हास्यास्पद कुरा भएको अधिकारी बताउछन् । उनले भने ‘ओलीले कसरी कारवाहि गर्छन । यो बुर्जुवा कोर्टले गरेको फैसला नमान्न पनि सक्छन् । मान्नु पर्छ भन्ने छैन । ओली पनि वुर्जुवा सरकारको प्रधानमन्त्री हो ।’
एमालेको नेपाल पक्षको भेलामा आइपुगेका छन् सिराहका ७२ बर्षका रामदयाल महतो । महतो सानैमा कम्युनिस्ट पार्टीमा लागे । उनी चौथो महाधिवेशन हुदै २०५२ सालमा एमाले भए । एमाले भएपछि जिल्लाको संयोजक पनि बने । अहिले नेपाल पक्षको भेलामा आएका यी पुराना कम्युनिस्ट नेता ओलीले पार्टीका विधान विधि र पद्धति मिचेको बताउछन् । उनी भन्छन्‘ ओलीले पार्टी र देशको संविधान मिच्यो । आन्दोलन सक्न थाले त्यहि भएर भेलामा आएको हुँ । अब ओलीले सच्चिनु पर्छ होइन भने उनको अब काम छैन ।’
अब यो भेलाबाट एमाले मजबुत र एकता बद्ध हुने विश्वास महतोको छ । उनी भन्छन्‘ यो भेलाबाट एमाले मजबुत र एकताबद्ध हुन्छ । जसले पार्टीको विधि विधान मान्दैन उनीहरु आफै सकिन्छन् ।’
पदको लोभ छैन,कारवाहि भोग्न तयार छौ
नेपाल पक्षको भेलामा सहभागी भएका कयौ केन्द्रीय सदस्य , प्रतिनिधि सभा सदस्य,राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरु छन् । उनीहरु आफुहरु पार्टी एकताको पक्षमा रहेको । एकता हुनु पर्छ पार्टी विधि र विधान अनुसार चल्नु पर्छ भन्दा केपी ओलीले कारवाहि गर्छन भने त्यो भोग्न तयार रहेको बताउछन् ।
सर्वोच्च अदालतले एमालेलाई २०७५ साल २ जेठमा पुगाएकाले एमाले त्यहिबाट सुचारु हुनु पर्छ । यदि कसैले त्यस्तो गदैन भने त्यसले सर्वोच्चको फैसला नमानेको र एमालेको विधान नमानेको ठहर नेपाल पक्षको रहेको छ । एमाले हुँ भन्ने र यसको नेतृत्व गर्नेले अहिलेको एमाले होइन ०७५ साल २ जेठको एमाले संचालन गर्नु पर्छ । यदि कसैले त्यस्तो गर्न मान्दैन भने त्यसको विरुद्ध लड्नु अहिलेको आवश्यता रहेको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद निरादेवी जैरु बताउछिन् । उनले भनिन् ‘अध्यक्ष केपी ओलीले नेकपा बनौ भन्नु भयो निशर्त नेकपा बन्यौ । अदालतले एमाले नै रहेको फैसला गर्यो त्यहि भएका छौ । तर यसमा कसैले गठबढ गर्छ भने त्यसका विरुद्ध लड्नु पर्छ । लड्दै छौ । गलतका विरुद्ध लड्दा कारवाहि हुन्छ भने भोग्न तयार छुँ । डराउदीन ।’
ओलीले ५ पुसमा संविधानमाथि कु गरेको उनी बताउछिन् । उनी भन्छिन् पार्टीको विधान, देशको संविधान नै खतम गर्नेले अरुमाथि कारवाहि गर्ने हिक्मत कसरी गर्न सक्छन् ,उनले भनिन् ‘१२० जना सांसद छन् ती सबैलाई कारवाहि गर्न सक्नु हुन्छ । उनी आफै सच्चिनु पर्छ । २८ गतेको बालुवाटारको भेलाले गरेका सबै निर्णय फिर्ता हुनु पर्छ । अनि पार्टी एक हुन्छ ।’
ओलीले कारवाहि गर्ने भनेको कुरा मजाकमा लिन्छन् केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद गणेश पहाडी । उनले भने ‘भेलामा सहभागी भएका सबै लाइन लागेर कारवाहि भोग्न तयार छौ । तर कारवाहि कसले गर्ने हो । त्यो थाह छैन । हामीले त पार्टीमा सहि कुरा उठाएका छौ । सहि कुरा उठाउदा कसरी कारवाहि हुन्छ ?’
आजको भेलाका सहभागीहरुको एउटै बोली थियो बालुवाटारमा भएको २८ गते फागुनको भेलाका निर्णय फिर्ता हुनु पर्छ होइन भने ७ गतेको केन्द्रीय कमिटीको बैठकमा पनि सहभागी हुनु हुदैन ।
प्रतिक्रिया दिनुहोस्: