चीनमा ७ बच्चा जन्माए बापत एक महिलाले तिरिन १ करोड ८० लाख जरिवाना
एजेन्सी । धेरै बच्चा जन्माउदा केहि देशले पुरस्कार दिन्छ । केहि देशले भने धेरै बच्चा जन्माउदा जरिवाना तिराउछ भन्दा अचम्म लाग्न सक्छ । तर हाम्रो छिमेकी देश चीनले भने धेरै बच्चा जन्माएबाफत आफ्ना नागरिकलाई जरिवाना तिराएको छ । हो , चीन सरकारले दुई सन्तान जन्माउन पाउने कानून बनाएको छ । तर पनि धेरैजसो चिनियाँ महिलाहरु सन्तान नै जन्माउन चाहदैनन् । कोही सन्तान नभएकोमा चिन्तित हुन्छन्।
तर एक चिनियाँ महिलाले सरकारको दुई बच्चा जन्माउन पाउने नीति तोड्दै सात बच्चा जन्माएपछि ठूलो धनराशी जरिवाना तिरेकी छिन् । ७ बच्चा जन्माए बापत उनले १ लाख ५५ हजार अमेरिकी डलर अर्थात करिब १ करोड ८० लाख नेपाली रुपैयाँ बराबरको जरिवाना तिरेकी छिन् ।
३४ वर्षीया व्यापारी महिला ज्हाङ रोङरोङ र उनका ३९ वर्षीय श्रीमानका पाँच छोरा र दुई छोरी छन् । सरकारको निति भन्दा ५ वटा बच्चा बढी जन्माएका कारण उनीहरूले ‘सामाजिक सहयोग रकम’ को नाममा जरिवाना तिरेका हुन् । उनीहरूले सरकारलाई रकम नतिरेको खण्डमा पाँच बच्चाले सरकारी परिचयपत्र नै नपाउने व्यवस्था छ ।
दक्षीण पूर्वी चीनमा ज्हाङको स्किनकेयर तथा ज्वेलरी र गार्मेन्टको दुई कम्पनी छन् । उनले साउथ चाइन मर्निङ पोस्टसँगको कुराकानीमा आफूलाई एक्लोपनदेखि दिक्क लागेपछि बच्चाको योजना बनाएको बताएकी छन् ।
श्रीमान बिजनेस ट्रिपको लागि बाहिर गइरहने र ठूला बच्चाहरू पढाइका लागि बाहिरै बस्ने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क छ । अहिले साना छोराछोरी साथमै हुन्छन् । सात बच्चाका बुवाआमा बनिसकेको यो जोडीले अब सन्तान नजन्माउने बताएको छ । आर्थिक सुरक्षाको विषयमा सोचेको साचेर मात्र आफूहरूले बच्चा जन्माएको ज्हाङको भनाइ छ ।
जनसंख्या अत्यधिक बढेपछि चीनमा १९७९ मा एउटा मात्र बच्चा जन्माउने पाउने नीति लागू गरिएको थियो । २०१५ मा नीतिलाई संशोधन गर्दै दुई बच्चा जन्माउने नीति बनाइयो । एक बच्चा मात्र जन्माउन पाउने चीन सरकारको नीतिका कारण चीनमा जन्मदर घटेपछि संशोधन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: