Bagmati Samachar Logo

केपी ओलीको स्वच्छाचारीतालाई छिटै अन्त्य गछौः प्रचण्ड

बुटवल । १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि महिनाभित्र केपी ओलीको स्वेच्छारिता अन्त्य हुने बताएका छन्।

‘अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं,’ बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं। अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं।’


प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्‍याउने बताए। आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको बताएका थिए ।
उनले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए।

‘तर सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने।

गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको उनले बताए।

श्री ३ महाराजधिराज हुन चाहेका केपी ओलीलाई लुम्बिनीले धराशायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डले भने । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।

‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय, स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौं’ प्रचण्डको भनाइ छ ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्वृद्धितर्फ जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।