Swornakshar Logo

प्रधानमन्त्रीको विकल्प खोजौंःडा. भट्टराई

काठमाडौं । ९ साउन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई संकटबाट बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्नुपर्ने सुझाव दिएका छन् ।

ओलीलाई बिदा गरेर नेकपाभित्रबाट नै अर्को प्रधानमन्त्री बनाउनुपर्ने सुझाव भट्टरार्ईले सामाजिक सञ्जाल ट्वीटमार्फत दिएका छन् । उनले तत्काल गर्नुपर्ने ५ वटा सुझाव दिएका छन् ।

उनले संसद् अधिवेशन बोलाउनुपर्ने, प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गरेर नेकपाभित्रबाट विकल्प खोज्नुपर्ने, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर अगाडि जानुपर्ने सुझाव दिएका छन् ।

हिजो मात्र पत्नी हत्यामा दोषी ठहरिएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रन्जन कोइराला अदालतको आदेशपछि छुटेका छन् । उनी छुटेपछि सामाजिक सञ्जालमा न्यायाधीशले नै अपराधको संरक्षण गरेको आरोप लाग्न थालेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । यही समयमा भट्टराईले पनि न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको पार्टीभित्र नै राजीनामाको माग उठिरहेको समयमा उनले पनि विकल्प खोज्नुपर्ने सुझाव दिएका छन् ।