Swornakshar Logo

नेकपा बैठकमा नेताको सम्पत्ति छानविन गर्न माग

केन्द्रीय सदस्य भन्छन्ः सम्पत्तिको हदवन्दी तोक्नुपर्छ

१७ माघ । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा एसमसीसीपछि सबैभन्दा धेरै बहस भएको विषय हो भ्रष्टाचार ।

केन्द्रीय सदस्यहरूले जनतालाई बढ्दो भ्रष्टाचारका विषयमा जवाफ दिन आफूहरू असक्षम बन्न थालेको गुनासो मात्र गरेनन्, नेताका सम्पत्ति छानविनको माग पनि गहकिलो ढंगले उठाएका छन् ।

आज समूहगत छलफलको निष्कर्ष राखेका ४ वटै टोलीका नेताले नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने विषयलाई महत्त्वका साथ उठाएका छन् । सबैभन्दा दरिलो आवाज लेखनाथ न्यौपाने र दीनानाथ शर्माको छ । उनीहरूले नेताका सम्पत्ति छानविन नगरी नेपालबाट भ्रष्टाचार नियन्त्रण हुन नसक्ने ठोकुवा नै गरे ।

सचिवालय सदस्यका अघि पेस भएको समूहगत छलफलको निष्कर्ष पेस गर्ने क्रममा नेताका सम्पत्ति छानविन हुनुपर्ने विषय उठाउदा हल तालीले गडगडाहट भएको थियो ।

टोली नेताहरूले नेताका सम्पत्ति छानविन गर्नुपर्छ मात्र भनेनन् नेताको सम्पत्तिको हदवन्दी तोक्नुपर्ने माग पनि गरे ।

‘नेताका सम्पत्ति छानविन हुनुपर्छ, सम्पत्ति कति राख्न पाउने भन्ने निर्क्योल पनि अब गर्नुपर्छ भन्ने केन्द्रीय सदस्यको धारणालाई मैले समर्थनसहित जस्ताको तस्तै बैठकमा राखेको छु,’ न्यौपानेले भने ।

टोली नेताहरूले राजनीतिक नियुक्ति भ्रष्टाचारको सबैभन्दा ठूलो स्रोत भएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना पनि गरेका छन् । उनीहरूले पार्टीका नेता कार्यकर्तालाई नियुक्ति नदिने तर मोटो रकम लिएर पार्टीभन्दा बाहिरकालाई नियुक्ति दिने परिपाटी बसेको भन्दै नेतृत्वको आलोचना पनि गरे ।

उनीहरूले पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्न पनि माग गरेका छन् ।

टोली नेता भगवती चौधरीका अनुसार भ्रष्टाचारका विषयमा जनतामा धेरै गुनासो बढेको र सो विषयमा जवाफ दिन कार्यकर्ता असमर्थ हुन थालेको विषय बैठकमा नेताहरूले उठाएका छन् ।

यसैगरी पूर्वसभामुख कृष्णबहादुर महराको बलात्कार काण्डमा पार्टीले छानविन गर्नुपर्ने धारणासमेत नेताहरूले राखेका छन् ।